Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका उस्मानको गुनासो : श्रीमती सम्पर्कविहीन, छोराछोरीको जिम्मेवारी आफूमाथि

वर्षौंसम्म वैदेशिक रोजगारीमा पसिना बगाएर कमाएको रकम र परिवारको भविष्यका लागि गरेको संघर्ष अहिले बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरका उस्मान खाँका लागि पीडाको विषय बनेको छ। पारिवारिक सम्बन्धमा आएको दरार, आर्थिक कारोबारमा भएको भनिएको अनियमितता र छोराछोरीको जिम्मेवारी एक्लै सम्हाल्नुपरेको अवस्थाबारे उनी न्यायको माग गर्दै सार्वजनिक भएका छन्।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उस्मानले आफ्नी श्रीमती सबनम खाँमाथि अर्का पुरुषसँग सम्बन्ध राखेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको र छोराछोरीलाई अलपत्र छाडेको आरोप लगाए। उनले घटनाको सत्यतथ्य छानबिन गरी आफूलाई न्याय दिलाउन प्रहरी, प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उस्मानका अनुसार उनी २०६५ सालदेखि रोजगारीका लागि कतार जाने–आउने गर्दै आएका थिए। आफू विदेशमा रहँदा घरपरिवारको सम्पूर्ण जिम्मेवारी श्रीमतीलाई सुम्पिएका थिए। तर, २०८३ साल जेठको अन्त्यतिर श्रीमतीको खजुरा गाउँपालिका–६ कै ३० वर्षीय सद्दाम भनिने सम्सुदुहा खाँसँग सम्बन्ध रहेको र आफूले विदेशमा कमाएको रकमसमेत हिनामिना भएको जानकारी पाएपछि असार २ गते नेपाल फर्किएको उनले बताए।

नेपाल फर्किएपछि घटनाबारे थप जानकारी पाएको उनको दाबी छ। उस्मानका अनुसार सबनमले सम्सुदुहाविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन्। सोही उजुरीका आधारमा सम्सुदुहा प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए।

उस्मानले श्रीमतीले लगाएको जबर्जस्ती करणीको आरोपको समेत निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनका अनुसार भेरी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा सबनम एक महिनाको गर्भवती रहेको पाइएको थियो। यस घटनालाई लिएर उनले सम्सुदुहाविरुद्ध लगाइएको आरोपको वास्तविकता छानबिनबाट स्पष्ट हुनुपर्ने माग गरेका छन्।

उस्मानको भनाइअनुसार सबनम अहिले सम्पर्कमा छैनन्। १२ वर्षीया छोरी र आठ वर्षीय छोरालाई छाडेर उनी गएको उस्मानको दाबी छ। विदेशमा कमाएको रकमसमेत हिनामिना भएको उनको आरोप छ।

श्रीमतीसँग सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाउन खोजे पनि उनी सम्पर्कमा नआउँदा कानुनी प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको उस्मानले बताए। उनले सञ्चारमाध्यममार्फत श्रीमतीलाई सम्पर्कमा आउन आग्रह गर्दै वैदेशिक रोजगारीबाट आर्जन गरेको रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्।

‘विदेशमा वर्षौं दुःख गरेर कमाएको पैसाले घरपरिवार चलाएँ। घरको जिम्मेवारी श्रीमतीलाई दिएको थिएँ। अहिले न पैसा छ, न श्रीमती साथमा छिन्। छोराछोरीको जिम्मेवारीसमेत आफैँले सम्हाल्नुपरेको छ,’ उनले भने।

हाल नेपालमै बसेर ई–रिक्सा चलाउँदै आएका उस्मानले छोराछोरीको पालनपोषण गरिरहेको बताए। पारिवारिक विवाद र आर्थिक कारोबारसँग जोडिएका आरोपहरूको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउन उनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस