Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

सस्तोमा धान बिक्री गर्न बाध्य बाँकेका किसान

पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । सरकारले समयमै धानको मुल्य निर्धारण गरेपनि खरिद कार्य सुरु गराउँदा व्यापारीहरुले सस्तो मुल्यमा धान खरिद गरिरहेकोले बाध्य भएर बिक्री गर्नुपरेको उनीहरुले बताएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु नगरेकोले स्थानीय किसानले सरकारले तोकेको मुल्यभन्दा सस्तोमा व्यापारीलाई धान बिक्री  गर्नुपर्ने बाध्यता रहेको बाँके नौबस्ताका किसान शंकरसिंह थारुले बताउनुभयो । 

उहाँले यस वर्ष सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ र मध्यमको तीन हजार ८६० रुपियाँ निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा ५०० देखि एक हजारसम्म सस्तो दरमा धान खरिद गरिरहेको बताउनुभयो । 

चाडपर्वको समयमा पैसाको आवश्यकता परेकोेले धान बिक्री गर्नुपरेको जनाउँदै किसान थारुले सरकारले मुल्य तोक्नुका साथै सुरुबाटै धान खरिद पनि सुरु गर्नुपर्ने माग गर्नुभयो । 

सोही प्रकारले बाँके जानकी ५ का किसान राम नरेश यादवले पैसाको जरुरी काम परेको बेला सरकारले तोकेको मुल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा विक्रि गर्नुपर्ने बाध्यता आएको बताउनुभयो । 

उहाँले सरकारले तोकेको मुल्यमा नै धान खरिद गर्नका लागि व्यापारीहरुको मिलमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नु आवश्यक रहेको बताउनुभयो । 

अहिले बाँकेका बिभिन्न स्थानमा सरकारले तोकेको भन्दा प्रति क्विन्टल ५०० देखि एक हजार रुपियाँसम्म कममा व्यापारीले धान खरिद गरिरहेका छन् । नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रति क्विन्टल तीन हजार भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा विक्रि गरिरहेको बताएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिएपनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकोले धान खरिद सुरु नभएको बताउनुभयो । 

कोटा निर्धारण गरेर केन्द्रबाट खरिद गर्ने निर्देशन आएलगत्तै बाँकेमा पनि खरिद सुरु गरिने उहाँको भनाइ छ । 

 यस वर्ष बाँकेमा गत वर्षभन्दा करिब १० प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान गरिएपनि धान पाकेर काट्ने बेला दुई पटक बर्षा र हावाहुरी आएकोले उत्पादन घट्ने कि बढ्ने हो अहिलेनै भन्न नसकिने कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले बताउनुभयो । 

प्रतिकृया दिनुहोस