कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसारको संरक्षणका लागि बर्दियाको गुलरिया नगरपालिकामा स्थापना गरिएको संरक्षण क्षेत्रमै कृष्णसारको सङ्ख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्तिममा २४२ वटा कृष्णसार रहेकोमा हाल घटेर २१० पुगेको छ । तीन महिनामा ३२ वटा कृष्णसार घटे । संरक्षण क्षेत्रबाट २० वटा बेपत्ता छन् ।
गत आव २०८२/८३ को अन्त्यमा भाले ७५, पोथी १४९ र बच्चा १८ गरी २४२ कृष्णसार थिए । हाल संरक्षण क्षेत्रमा भाले ५८, पोथी १४० र बच्चा १२ गरी २१० वटा कृष्णसार छन् । कृष्णसार संरक्षण क्षेत्रका प्रमुख उत्तमकुमार चौधरीका अनुसार गत आव २०८२/८३ मा चितुवाको आक्रमणमा १२, कुकुरबाट सात, हुँडारबाट एक र प्राकृतिक कारणले २२ गरी ४२ कृष्णसार मृत अवस्थामा फेला परेका थिए भने चालु आवमा चितुवाबाट आठ, कुकुरबाट तीन र प्राकृतिक कारणले एक गरी १२ कृष्णसार मारिएका छन् ।
कृष्णसारले बच्चा जन्माउनासाथ चितुवा, हुँडार र कुकुरको आक्रमणमा पर्ने गरेको कृष्णसार संरक्षण क्षेत्रका कर्मचारी बताउँछन् । रातभरि गस्ती गर्दासमेत कृष्णसारका बच्चा जोगाउन नसकिएको उनीहरू गुनासो छ । हालसम्म चालु आवमा चार वटा चितुवा नियन्त्रणमा लिइएको प्रमुख चौधरीले बताउनुभयो । बेपत्ता भएका २० वटा कृष्णसार चितुवाले संरक्षण क्षेत्रबाहिर लगेको हुन सक्ने प्रमुख चौधरीले बताउनुभयो । संरक्षण क्षेत्रमा व्यवस्थित तारबार नभई खुला भएकाले चितुवा, हुँडार र कुकुरले बच्चा र ठुला कृष्णसार मार्ने गरेको उहाँले जानकारी गराउनुभयो । कृष्णसार संरक्षण क्षेत्रभित्र बस्ती भएकाले व्यवस्थित तारबार नहुँदा कृष्णसार जोगाउन मुस्किल भएको उहाँको भनाइ छ ।
कृष्णसार संरक्षण क्षेत्रभित्रको बस्ती व्यवस्थापन नहुँदा कृष्णसारको संरक्षण पनि हुन नसकेको र जनताले पनि दुःख पाइरहेको गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्कप्रसाद अधिकारीले बताउनुभयो ।
विसं २०३२ देखि संरक्षण सुरुवात गरिएकोमा २०६५ सालमा संरक्षण क्षेत्र घोषणा गरिएको थियो । ७०८ बिघा क्षेत्रफलमा फैलिएको कृष्णसार संरक्षण क्षेत्रभित्र २४२ घरधुरी छन् ।
प्रतिकृया दिनुहोस