Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

त्रिशूलीको बाढी चितवन पुग्दै, बस्ती खाली गराउँदै प्रशासन

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको ठुलो बाढी चितवनको फिस्लिङ क्षेत्रनजिक आइपुगेपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ । बाढी चितवन प्रवेश गरिनसकेको भए पनि त्रिशूली र नारायणी नदीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ । जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको र नदी किनारका बस्तीमा निरन्तर निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै चितवन प्रशासनले स्थानीय तहसँग समन्वय गरी सुरक्षा निकाय परिचालन गरेको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, माइकिङमार्फत सावधानी अपनाउन सूचना दिने तथा जोखिमयुक्त सडकमा सवारीसाधनको आवागमन रोक्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सावधानी अपनाउन सूचना सम्प्रेषण गर्ने र सवारीसाधन रोक्ने काम गरेका छौँ’ उहाँले भन्नुभयो । नारायणी नदीको तटीय क्षेत्र, विशेषगरी नारायणगढ बजार आसपासका नदी किनारमा प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रशासनको आग्रह अटेर गरी नदी किनारमै बसिरहेका कतिपयलाई प्रहरीले सुरक्षित स्थानतर्फ हटाएको छ । नदी किनारका बस्ती तथा बजार क्षेत्रलाई क्रमशः खाली गराउने काम भइरहेको छ ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । उद्धार तथा विपद् व्यवस्थापनका लागि सुरक्षा टोली परिचालन गरिएको छ ।

प्रशासनले नदी किनारमा माछा मार्ने, बालुवा तथा गिट्टी निकाल्ने, घाँस–दाउरा संकलन गर्ने लगायतका काममा नजान आग्रह गरेको छ । बाढीको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले नदीको बहाव हेर्न वा फोटो–भिडियो खिच्न नदी किनारमा नजानसमेत प्रशासनले आग्रह गरेको छ ।

बाढीको प्रभाव बढ्दै गएमा थप जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समेत तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग निरन्तर समन्वय गरी नदीको अवस्थाको निगरानी गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस