कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
नेपालगञ्ज – बाँकेको कोहलपुरस्थित शिखा एकेडेमीले नेपालगञ्ज स्विमिङ क्लबको सहकार्यमा दोस्रो शिखा स्कुल स्तरीय स्विमिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। यही वैशाख छब्बिस गते प्रतियोगिता सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक राजीव सुवेदीले जानकारी दिनुभयो। शिखा एकेडेमीको आफ्नै विद्यालय परिसरमा निर्माण गरिएको स्विमिङ पुलमा प्रतियोगिता सञ्चालन गर्ने उहाँले बताउनुभयो।
पौडी खेलप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको र यसलाई थप व्यवस्थित तथा प्रतिस्पर्धात्मक बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक राजीव सुवेदीको भनाइ छ। उहाँले भन्नुभयो,– ‘स्विमिङ च्याम्पियनसिपको दोस्रो संस्करण शिखा स्कुल लेभल स्विमिङ च्याम्पियनसिप आयोजना गर्दैछौँ र यो संस्करणमा करिब देशभरका विद्यालयबाट करिब सय प्लस विद्यार्थीहरू सहभागी हुन गइरहेका छन्।’
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच पचास र सय मिटर दूरीमा विभिन्न प्रतिस्पर्धा गराइने विद्यालयका कार्यक्रम संयोजक सूर्यमणि अधिकारी बताउनुहुन्छ। उहाँले यस प्रतियोगिताले विद्यार्थीमा खेलप्रति रुचि बढाउनुका साथै पौडी खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। ‘हामीले नेपालगञ्ज स्विमिङ क्लबसँग सहकार्य गरेर यो प्रतियोगितालाई राष्ट्रिय स्तरमा नै चिनाउनको लागि र हाम्रा विद्यार्थी भाइबहिनीहरू नेपालका काठमाडौँ लगायत सम्पूर्ण ठाउँका विद्यार्थीहरूसँग पौडीमा कम छैनन्र भन्ने कुरालाई देखाएर उनीहरूको कन्फिडेन्ट लेभल बिल्डअप गर्ने उद्देश्यका साथ हामीले यो पौडी प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।–उहाँले भन्नुभयो ।
प्रतियोगिता यहि छब्बिस गते बिहान सात बजेदेखि शिक्षा एकेडेमी कोहलपुरको परिसरमा सुरु हुनेछ। प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलवस्तु, काठमाडौँ, ललितपुर र बुटवलका अठार विद्यालयका करिब सय बढी खेलाडी सहभागी हुनेछन्। आठदेखि सत्र उमेर समूहका छात्र छात्राबीच प्रतिस्पर्धा हुनेछ भनि प्रतियोगितामा चौबिस वटा इभेन्ट समावेश गरिएको कोच चन्द्रराम चौधरीले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। साथै विभिन्न विधामा विजेता खेलाडीलाई मेडलसहित प्रमाणपत्र र सहभागी सबै खेलाडीलाई सहभागिता प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।
प्रतिकृया दिनुहोस