कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन् । दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला लगाएर इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि बुधबार तिहार मनाएका हुन् ।
२० वर्षदेखि टीका लगाउँदै आउनुभएका समाजसेवी प्रवेज अली सिद्धिकीले बहिनी मीना तुलाधर र दिदी माया थापासँग टीका ग्रहण गर्नुभएको छ । एक अर्काको धर्मप्रति सम्मान गर्ने सोचको विकास गर्न टीका लगाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दसैंतिहार जस्ता पर्व मनाउँदा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध अझ सुमधुर हुन्छ ।” तिहारमा हिन्दु समुदायजस्तै टीका माला लगाउँदा थप उत्साह र उमङ्ग छाउने गरेको मुस्लिम अगुवा सिद्धिकीको भनाइ छ ।
यसैगरी अर्का मुस्लिम अगुवा नेपालगगन्जका वरिष्ठ व्यवसायी अब्दुल वाहिद मन्सुरीले पनि हिन्दु बहिनीसँग टीका लगाएर तिहार मनाउनु भएको छ । उहाँले आफूले हरेक वर्ष यसैगरी यो पर्व मनाउने गरेको बताउनुभयो।
सोही प्रकारले अर्का मुस्लिम अगुवा सफिक अहमद बेहनाले पनि हिन्दु समुदायकी बहिनीको हातबाट टिका लगाउनुभयो ।
सदभाव र धार्मिक एकताको सहर नेपालगन्जमा हिन्दु धर्मावलम्बीहरू इस्लाम धर्मावलम्बीको पर्वमा सहभागी हुँदै आएका छन् भने मुस्लिमहरूले हिन्दुको पर्वमा खुशी बाँड्दै आएका छन्। दुवै समुदायले एक अर्कालाई शुभकामना आदानप्रदान गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सघाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस