कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
नेपालीहरूको महान् पर्व तिहार २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्दै यसले मानव, प्रकृति र प्राणी जगतबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको हो । काग, कुकुर, गाई र गोरूको पूजा गर्ने परम्पराले जीवजन्तुप्रतिको सम्मान र कृतज्ञताको भावना अभिव्यक्त गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
लक्ष्मीपूजा, भाइटीका तथा देउसी(भैलोले पारिवारिक आत्मीयता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने भन्दै उहाँले मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बर्धन तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
देउसी–भैलोबाट सङ्कलित सहयोग रकम सामाजिक हित र रचनात्मक कार्यमा उपयोग गर्ने परम्परालाई महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। उहाँले मुलुकका समस्या र चुनौतीको दीर्घकालीन समाधान संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र संस्थागत सुशासनबाट मात्रै सम्भव हुने बताउनुभएको छ ।
यसका लागि सबै पक्षबिच एकता, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री आचार्यले तिहारले दिने अनुशासन, सद्भाव र सहयोगको सन्देशलाई आत्मसात् गर्दै प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
त्यस्तै, ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न कृषि, पशुपालन, उत्पादन, उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको उहाँले बताउनुभएको छ । युवा पुस्ताको सोच, चाहना र सम्भावनालाई सम्बोधन गर्दै आत्मनिर्भरता, उद्यमशीलता र नवप्रवर्तनमा आधारित विकासलाई सरकारले जोड दिएको मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ।
प्रतिकृया दिनुहोस