Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा गठन भएको बताउनुभयो । अग्रगामी मोर्चाले आइतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले सो बताउनुभयो । 

उहाँले पछिल्लो समय देशमा भइरहेका गतिविधिले मुलुकमा संकट बढाएको दाबी गर्दै त्यस्ता कार्यविरुद्ध अग्रगामी मोर्चाले जनतालाई सचेत पारिरहेको बताउनुभयो । विगतमा भएका ठुला ठुला आन्दोलन र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र र संविधान नै खतरामा पर्न थालेको देखिएकोले आफुहरु देश दौडाहामा निस्किएको अध्यक्ष यादवले जनाउनुभयो । 

सोही कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले जनताका चाहना पुरा नहुने अवस्था बन्दै गएकोले अब चुप लागेर बस्न नसकिने तथा जनताका अधिकार र चाहना पुरा गराउन आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताका अधिकारको रक्षाका लागि अग्रगामी मोर्चा अघि बढ्ने बताउनुभयो । 

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्माले देशमा देखिएको पछिल्लो घट्नाक्रम र गतिविधिले राजनीति नै विघटन हुने खतरा बढेको आशंका व्यक्त गर्नुभयो । उहाँले देशलाई सही दिशामा ल्याउन मोर्चाले देशभरी जागरण अभियान सुरु गरेको बताउनुभयो । 

आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु शाहले जनताको अधिकार र संविधानको रक्षाका लागि एक पटक पुनः जनता जाग्नुपर्ने देखिएको तथा सोही कारण जागरण अभियान सुरु गरिएको बताउनुभयो । 

सो कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्ले लगायत अन्य विभिन्न नेताहरुले पनि सम्बोधन गर्नुभयो । लुम्बिनी प्रदेशका सयौं नेता कार्यकर्ताको सहभागिता रहेको सो कार्यक्रम जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष कौशल धोबीको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस