Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

बाँकेका महिलाको उद्यम : दसैंमा सात सय खसी–बोका बिक्री

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिलाहरूले यस पटकको दसैंमा सात सय वटा खसी–बोका बिक्री गरेका छन् । राप्ती सोनारी–६ फत्तेपुरमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका गाउँका करिब चार सय जना किसान महिलाहरूले यस वर्ष सात सय वटा खसी–बोका बिक्री गरेको सहकारी संस्थाकी अध्यक्ष गंगा शाहले जानकारी दिनुभयो ।

उहाँले यसपटक दसैंको बेला व्यापारी र उपभोक्ता दुवैले सहकारीमा नै आएर सात सय रुपियाँ किलोको दरले जिउँदो खसी–बोका तौलेर खरिद गरेको जनाउँदै सोहीबाट महिलाहरूले दसैंको खर्च जुटाएका हुन् । 

“महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा लिएर आउनु हुन्छ, उहाँहरूले नै तौल गराउनुहुन्छ । हामीले उहाँहरुकै उपस्थितिमा बिक्री वितरण गर्ने गरेका छौँ,”अध्यक्ष शाहले भन्नुभयो, “यो वर्षको दसैंमा सात सय वटा खसी बोका बिक्री भएका छन् ।”

सहकारीमार्फत व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले खसी–बोका बिक्री गर्दै आएका छन् । महिलाहरूले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसी–बोका उत्पादनमा वृद्धि भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष शाहको भनाइ छ ।

उहाँले बाख्रा पालनमा लागेका किसान महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको बताउनुभयो । 

गाउँमा महिला समूहमा आवद्ध हुनेहरूले घरमा पालेका खसीको बजार व्यवस्थापनको काम नयाँ सिर्जनशील उद्यमी महिला सहकारी संस्थाले गर्न थालेपछि बजार खोज्ने र ठगिने झन्झटबाट दिदीबहिनीहरू मुक्त भएको किसान महिलाको भनाइ छ । 

फत्तेपुरका महिला किसान सावित्री चौधरीले खसी बोकालार्ई सहकारीले आफैँ बिक्री गर्न थालेपछि बजार खोज्ने र व्यापारीबाट ठगिने दुवै झन्झटबाट मुक्ति मिलेको बताउनुभयो । 

उहाँले फत्तेपुरका महिलाले प्रत्येक वर्ष दसैं र बकराइदमा ठुलो संख्यामा खसी–बोका बिक्री गर्ने गरेको जनाउनुभयो । 

सहकारीमा आवद्ध भएर बाख्रा पालनमा लागेका महिलाहरुका खसी–बोका राम्रै मूल्यमा बिक्री हुन थालेपछि उहाँहरूलाई घर खर्च चलाउनसमेत सहज बन्दै गएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताउनुभयो ।

उहाँले सहकारी संस्थामा आवद्ध एक हजार भन्दा बढी महिलाले बाख्रा पालन, धान खेती, मकै खेती र गहुँ खेती समेत गरिरहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस