कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
दसैँमा परिवार र आफन्तसँग खुसी साटासाट गर्न जन्मथलो फर्किएका यहाँका अधिकांश व्यक्ति कर्मथलोतर्फ फर्कन थालेका छन् । रोजगारी, अध्ययन र व्यवसायका लागि जिल्लाबाहिर तथा विदेशमा रहेका व्यक्तिहरू फर्कन थालेपछि अर्घाखाँचीका गाउँघर सुनसान हुन थालेका छन् । जिल्लाबाहिर जानेको भिड सदरमुकाम सन्धिखर्कमा देखिन थालेको छ ।
दसैँको टीका, जमरा र आफन्तसँगको भेटघाटको सम्झना बोकेर फर्कनेमा गाउँघर छाड्नुपर्दाको भावुकता पनि देखिन्छ । परिवारसँग केही दिन बिताउने रहर हुँदाहुँदै काम र जिम्मेवारीका कारण निर्धारित समयमा कार्यस्थल पुग्नुपर्ने भएपछि उनीहरू फर्किन बाध्य भएका हुन् ।
सन्धिखर्क नगरपालिका–९, अर्घाका ज्ञानु अधिकारीले दसैँबिदा सकिएपछि कार्यस्थल काठमाडौँतर्फ फर्कन लागेको बताउनुभयो । परिवार र आफन्तसँग बिताएका दिनले खुसी दिए पनि काममा फर्कनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
मालारानी गाउँपालिका–५ का कृष्ण खत्री पनि दसैँ मनाएर बुटवल फर्कन लाग्नुभएको छ । बुटवलमा कपडा पसल सञ्चालन गर्दै आएका उहाँलाई गाउँघरमा परिवार र आफन्तसँग अझै केही दिन बिताउने इच्छा भए पनि व्यवसायको जिम्मेवारीले रोक्न सकेन । खत्रीले भन्नुभयो, “गाउँघरमा परिवारसँग बसेर दसैँ मनाउँदा समय बितेको पत्तै हुँदैन । आफन्तसँगै बसिरहूँ जस्तो लाग्छ तर काम व्यवसायले धेरै दिन जन्मथलोमा बस्न दिएन । गाउँघर छाड्न मन नहुँदानहुँदै पनि फर्किनु परेको छ ।”
मालारानी गाउँपालिका–३, खनदहकी कोकिला धामीको अनुभव पनि उस्तै छ । रोजगारीका लागि न्युजिल्यान्डमा रहेकी धामी दसैँ मनाउन नेपाल आउनुभएको थियो । बिदा सकिएपछि उहाँ मङ्गलबार दिउँसोको उडानबाट न्युजिल्यान्ड फर्कंदै हुनुहुन्छ ।
उहाँले परिवारसँग बसेर चाडपर्व मनाउने रहर भए पनि रोजगारी र समयको सीमितताका कारण लामो समय नेपाल बस्न नसकेको बताउनुभयो । विदेशमा रहँदा गाउँघर र आफन्तको सम्झनाले सताउने तथा नेपाल आउँदा खुसी लाग्ने भए पनि चाडपर्वपछि पुनः विदेश फर्कनुपर्दा मन भारी हुने उहाँको भनाइ छ ।
दसैँ मनाएर फर्कने यात्रुको चाप बढेसँगै जिल्लामा सवारीसाधनको आवागमन पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख लिलबहादुर कुँवरले यात्रुको आवागमन सहज बनाउन तथा सवारीसाधनको चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ अवधिमा जिल्लामा पाँच हजार दुई सय सवारीसाधन भित्रिएका तथा बाहिरिएका छन् । यस अवधिमा यात्रुको सङ्ख्या झन्डै ४० हजार रहेको कार्यालयले जनाएको छ ।
चाडपर्वमा परिवारसँग भेटघाट र रमाइलो गर्न गाउँ फर्किएका सर्वसाधारण पुनः काम र जिम्मेवारीमा फर्कन थालेपछि जिल्लाका सडक तथा बसपार्कमा यात्रुको चहलपहल बढेको छ । रोजगारी र अध्ययनका कारण घरपरिवारबाट टाढा बस्नेका लागि दसैँको भेटघाटले आत्मीयता बढाए पनि चाडपर्व सकिएसँगै पुनः छुट्टिनुपर्ने अवस्था दोहोरिएको छ ।
प्रतिकृया दिनुहोस