Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

साहित्यमा महिला हस्ताक्षरको संघर्षः सत्ता, पितृसत्ता र खुम्चिएको नजरिया

नेपाली साहित्यको क्षेत्रमा महिलाहरूको उपस्थिति र उनीहरूले सिर्जना गरेका कृतिहरूलाई समाजले हेर्ने दृष्टिकोणका बारेमा नेपालगन्जमा एक विशेष विमर्श कार्यक्रम सम्पन्न भएको छ । “साहित्यमा महिला हस्ताक्षरः विश्व र नेपाल’’ विषयक उक्त कार्यक्रममा नेपाली साहित्यमा महिलाहरूको पहुँच, उनीहरूको अवस्था र समाजको पितृसत्तात्मक सोचले पार्ने प्रभावका बारेमा गम्भीर बहस गरिएको छ ।

महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उप–समितिद्वारा आयोजित उक्त विमर्श कार्यक्रममा साहित्यकार शिवानी सिंह थारु र प्रकृतिवादी कवि निभा शाहले आफ्ना अनुभव र विचारहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यलाई समाजको ऐना मानिए पनि उक्त ऐनामा महिला र पुरुष दुवैको समान प्रतिबिम्ब देखिनु पर्नेमा जोड दिइएको थियो । यद्यपि, वर्तमान अवस्थामा महिलाहरूको उपस्थिति कमजोर पारिएको हो वा उनीहरूलाई छायामा पारिएको हो भन्ने प्रश्न टड्कारो रूपमा उठेको थियो ।

नजरियाको साँघुरो घेरा र ‘बक्स’ प्रवृत्ति साहित्यकार शिवानी सिंह थारुले नेपाली समाजले महिला सर्जकका कृतिहरूलाई कसरी संकुचित घेराभित्र राखेर हेर्छ भन्ने विषयमा निकै रोचक र मार्मिक धारणा राख्नुभयो । ‘महिला लेखकहरूलाई प्रायः तीनवटा ‘टिक मार्क’ वा ‘बक्स’ भित्र सीमित गरिन्छ । यदि कुनै महिला लेखकले नारीवादी दृष्टिकोणबाट लेख्छिन् भने उनलाई ‘पुरुषलाई तल देखाउन खोज्ने’ र ‘दृष्टिभ्रम भएको’ आरोप लगाएर पढ्नै नपर्ने श्रेणीमा राखिन्छ । अर्कोतर्फ, यदि उनी नारीवादी होइनन् भने उनलाई ‘आफ्नै सानो घेरा र दिदीबहिनीका अनुभवमा मात्र सीमित’ भएको भनी उपेक्षा गरिन्छ । ’–उहाँले भन्नुभयो ।

थारुले पुरुष लेखकहरूले गरेको अनुसन्धानलाई गम्भीरतापूर्वक लिइने तर महिला लेखकले स्थलगत रूपमा गएर गरेको अनुसन्धान लाई पनि केवल ‘इन्टरनेट रिसर्च’ को रूपमा हेरेर उनीहरूको विश्वसनीयतामाथि प्रश्न उठाइने गरेको पीडा व्यक्त गर्नुभयो ।

कवि निभा शाहले महिला सर्जकहरू पछाडि पर्नुको मुख्य कारण सत्ताको खेल र संरचनात्मक समस्या रहेको बताउनुभयो । उहाँका अनुसार महिलाहरू किन पराधीन छन् भन्ने प्रश्नको उत्तर उनीहरूलाई हेर्ने नजरिया र शक्ति संरचनामा लुकेको छ । शाहले भन्नुभयो, ‘जबसम्म संरचनामा परिवर्तन हुँदैन र सत्तामा महिलाहरूको वास्तविक हस्तक्षेप हुँदैन, तबसम्म स्थिति बदलिँदैन ।’ 

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो,–‘केवल विद्यादेवी भण्डारी राष्ट्रपति हुनु वा कुनै थारु समुदायको व्यक्ति मन्त्री हुनुले मात्र समग्र महिला वा समुदायको मुक्ति हुँदैन । यो एउटा सरकारी प्रक्रिया मात्र हो, तर वास्तविक मुक्तिका लागि सत्ताको संरचनामै हस्तक्षेप र क्रान्ति आवश्यक छ ।’ शक्तिशाली महिलाहरूलाई समाजले सहजै धोका दिन नसक्ने भए पनि समग्र संरचनाले अझै पनि महिलालाई पराधीन बनाइराखेको उहाँको तर्क थियो ।

साहित्य समाजको ऐना मात्र नभई यसले इतिहास, संस्कृति र मूल्यमान्यतालाई शब्दमा उतार्ने काम गर्ने भएकोले साहित्यमा महिला हस्ताक्षरलाई कमजोर बनाइनु वा उनीहरूलाई अवसरबाट वञ्चित गरिनु भनेको समाजको एउटा ठूलो हिस्सालाई नै उपेक्षा गर्नु हो । महिला लेखकहरूका अनुभवलाई पुरुषको नजरबाट नभई उनीहरूकै धरातलबाट बुझ्न आवश्यक रहेको वक्ताहरुको तर्क थियो ।
 

प्रतिकृया दिनुहोस