Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

प्रदेश सुशासन केन्द्रद्वारा नागरिक समाज र मिडियालाई प्रशिक्षण 

 

लक्ष्मी तिमिल्सेना : स्थानीय विकासका कार्यमा पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता सुदृढ गर्ने उद्देश्यले सार्वजनिक जवाफदेहिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम नेपालगञ्जमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको आयोजनामा सुरु भएको उक्त कार्यक्रम प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । कार्यक्रममा वडा तहका नागरिक समाज, संघसंस्था, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले सुशासन प्रवद्र्धनका लागि जवाफदेहिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले जवाफदेहिता केवल सरकारी निकायसँग मात्रै सीमित नभई प्रत्येक नागरिक, संस्था र सरोकारवालासम्म फैलिनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले सार्वजनिक सरोकारका विषयमा प्रभाव पार्ने हरेक व्यक्ति आफ्नो काम र व्यवहारप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रशिक्षणको मुख्य उद्देश्य नागरिक समाज र मिडियालाई एउटै मञ्चमा राखेर वर्तमान परिवर्तित सन्दर्भमा उनीहरूको भूमिकाबारे समीक्षा तथा सुदृढीकरण गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सार्वजनिक जवाफदेहिताको अवधारणा, स्थानीय विकासको अनुगमन, सूचनाको हकको प्रयोग, पत्रकार आचारसंहिता, निष्पक्षता र नागरिक समाजको स्वतन्त्रता लगायत विषयमा छलफल हुने प्रशिक्षक नमस्कार शाहले बताउनुभयो ।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक उजीर प्रसाद न्यौपानेले नागरिक समाज र सञ्चारकर्मीलाई समेटेर पहिलो पटक यस्तो तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा बाँके र बर्दिया जिल्लाबाट कार्यक्रम सुरु गरिएको हो, भने आगामी वर्षहरूमा अन्य जिल्लामा पनि विस्तार गरिनेछ । उहाँले राज्यका गतिविधिहरूमा सकारात्मक निगरानी र रचनात्मक खबरदारी बढाउन यस्तो प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गनुभयो । कार्यक्रममा सहभागिहरूबीच अन्तरक्रियात्मक छलफलमार्फत स्थानीय तहमा देखिएका समस्या र समाधानका उपायहरूबारे समेत विमर्श गरिनेछ । यस कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न नागरिकको प्रत्यक्ष संलग्नता र निगरानी प्रणालीलाई मजबुत बनाउने अपेक्षा व्यक्त गर्नुभयो ।  
दुईदिन चल्ने प्रशिक्षणमा प्रशिक्षकका रूपमा कृष्णहरि बास्कोटा र नमस्कार शाह हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस