Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

उपचारमा आउँदैनन् एचआईभी सङ्क्रमित, समुदायमा सर्ने जोखिम

बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका केही व्यक्तिहरू उपचारको पहुँचभन्दा बाहिर रहेकाले समुदायमा रोग सर्ने जोखिम बढेको छ । सङ्क्रमण पुष्टि भएपछि पनि मानिसहरू उपचारमा नआउने र उपचारको क्रममा सम्पर्कविहीन रहने गरेकाले समुदायस्तरमा रोग सर्ने जोखिम बढेको हो । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले आर्थिक वर्ष २०८२/०८३ मा आयोजना गरेको परियोजनामार्फत आयोजना गरिएको स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा कार्यक्रम संयोजक संजयकुमार पौडेलले सङ्क्रमित व्यक्तिहरू उपचारको पहुँचबाट टाढा हुनु निकै जोखिमपूर्ण रहेको तथा यसले एचआइभी  नियन्त्रणमा चुनौती बनेको बताउनुभयो ।

“सङ्क्रमण पुष्टि भइसकेपछि पनि उपचार नगर्नुको समस्या हाम्रो लागि चुनौती बनेको छ,” कार्यक्रम संयोजक पौडेलले भन्नुभयो, “यसले समुदायस्तरमा सङ्क्रमणको जोखिम बढाएको देखिन्छ ।” गत आर्थिक वर्षमा एचआईभी सङ्क्रमण पुष्टि भएका सय जनामध्ये २९ जना उपचारको पहुँच बाहिर रहेको संयोजक पौडेलले जानकारी दिनुभयो । तीमध्ये धेरैजसो नेपालगन्जका रहेको उहाँले बताउनुभयो । भेरी अस्पतालमा फाउन्डेसनसँगको सहकार्यमा एन्टिरेट्रोभाइरल थेरापी केन्द्र सञ्चालनमा छ । यस केन्द्रबाट एचआईभी सङ्क्रमित व्यक्तिहरूले नियमित एआरटी सेवाहरू पाइरहेका छन् । 

केही सङ्क्रमितहरु समाजबाट हुने भेदभाव, लज्जा र डरका कारण उपचारमा आउन नचाहेको देखिएको फाउन्डेसनले जनाएको छ । सङ्क्रमित व्यक्तिहरूप्रति समाजको दृष्टिकोणमा सुधार हुँदै गएपनि सामाजिक डर र लजालुपनका कारण उपचार नगराउने समस्या अझैपनि रहेको पौडेलले बताउनुभयो । 

भेरी अस्पतालका अनुसार सो अस्पतालमा हाल ६५८ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् । २०१७ देखि अस्पतालमा एआरटी सेवा सुरु गरिएको थियो । सेवा सुरु हुँदा एआरटी लिने ३९० जना थिए भने हाल यो सङ्ख्या बढेर ६५८ पुगेको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ । 

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा. संकेत कुमार रिसालले उपचारमा पहुँच भएका एचआईभी सङ्क्रमित आमाबाबुबाट जन्मेका स्वस्थ बच्चाहरूको दर बढेको बताउनुभयो । एचआईभी सङ्क्रमणको पहिचान, नियमित उपचार र स्वास्थ्य सेवामा विस्तारित पहुँच, नयाँ जन्मले बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उहाँले जनाउनुभयो । 

भेरी अस्पतालमा भाइरल लोड परीक्षण मेसिनको अभावका कारण सेवा प्रवाहमा चुनौतीहरू रहेको डा. रिसालको भनाइ छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले नयाँ नियमअनुसार एचआईभी सङ्क्रमितको पहिचान गरिएका व्यक्तिहरूलाई उपचारमा जोड्न र उपचारको क्रममा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या घटाउन छुट्टै संयन्त्र बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस