Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

बाँकेमा एक वर्षमा ३ हजार ५०७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

बाँकेमा सुरक्षित गर्भपतन सेवा लिनेहरूको संख्या बढेको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेहरू बढ्दै गएका हुन् । 

स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये एक सय ३४ जना २० वर्ष मुनिका हुन् । योअवधिमा १२ हप्तामाथिका २८ जना रहेका छन् । 

पब्लिक हेल्थ नर्स अधिकृत श्रेष्ठले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा गत आर्थिक वर्षमा तीन हजार ५०७ जनाले सो सेवा लिएको हुँदा सेवा लिनेमा गत आवमा ४१७ जना बढेको बताउनुभयो । 

सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपछि धेरै महिलाहरूले असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने जोखिम कम हुँदै गएको नेपाल परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार नेपाल परिवार नियोजन संघका २० वटा शाखामध्ये बाँके शाखाबाट सुरक्षित गर्भपतन सेवा र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । 

पछिल्लो समय स्वास्थ्य संस्था र प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिन थालेकाले जोखिम घट्दै गएको भेरी अस्पताल नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकीले बताउनुभयो । 

उहाँले असुरक्षित गर्भपतनले रक्तस्राव, संक्रमणदेखि पाठेघरमा चोट र महिलाले ज्यान गुमाउनेसम्मको जोखिम बेहोर्नुपर्ने अवस्था आउन सक्ने जनाउँदै सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस