Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

मानव बेचबिखनविरुद्ध एकजुट भएर लाग्न सरोकारवालाको जोड

 

मानव बेचबिखनको अवस्था, चुनौती तथा न्यूनीकरणका उपायबारे असोज ११ गते आइतवार नेपालगञ्जमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।

आशीर्वाद नेपाल र नयाँ आशाको आयोजनामा भएको कार्यक्रममा मानव बेचबिखनविरुद्ध क्रियाशील विभिन्न संघ–संस्था, सरकारी निकाय, स्थानीय तह, पत्रकार, राजनीतिक दल तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आशाकुमारी शाही, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय प्रतिनिधि नमस्कार शाह, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी, मानव बेचबिखनविरुद्ध क्रियाशील अधिकारकर्मी निर्मला पौडेल, अपाङ्गता अधिकारकर्मी भावुक जंग थापालगायतले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय बाँके तथा इलाका प्रहरी कार्यालय जमुनाहाका प्रतिनिधिले पनि मानव बेचबिखन नियन्त्रण तथा सीमा क्षेत्रमा हुने जोखिम न्यूनीकरणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले मानव बेचबिखनविरुद्ध सबै पक्ष एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका थिए। विशेषगरी जोखिममा रहेका महिला, बालबालिका तथा अन्य संवेदनशील समुदायलाई लक्षित गरी सचेतना, निगरानी, उद्धार, संरक्षण तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूको जोड थियो।

कार्यक्रममा आशीर्वाद नेपालका जीवन गिरी, आशीर्वाद भारतका आशिष श्रीवास्तव र विनिता ग्रेटवाल तथा अमेरिकाकी क्रिष्टिनाले मानव बेचबिखनको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूले विस्तृत रूपमा छलफल गरेका थिए।

कार्यक्रमको सञ्चालन लामो समयदेखि मानव बेचबिखनविरुद्ध क्रियाशील अधिकारकर्मी राधिका गिरीले गर्नुभएको थियो। गिरीले मानव अधिकारका विभिन्न सवालमा लामो समयदेखि काम गर्दै आउनुभएको छ।

कार्यक्रममा आगामी दिनमा मानव बेचबिखनविरुद्ध अपनाउन सकिने रणनीति तथा कार्यदिशाबारे पाँचवटा समूह बनाएर समूहगत छलफलसमेत गरिएको थियो।

आशीर्वाद नेपाल कम्पनी ऐनअन्तर्गत यही असोज ६ गते दर्ता भएको र दर्तापछि असोज ११ गते नै सरोकारवालाहरूको सहभागितामा पहिलो कार्यक्रम सम्पन्न गरेको आयोजकले जनाएको छ। संस्थाले आगामी दिनमा मानव बेचबिखन तथा मानव अधिकारका सवालमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।

प्रतिकृया दिनुहोस