कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपालद्धारा संचालित कृष्णसार एफएमलाई नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्रदान गरिएको छ । नेपालको मिडिया क्षेत्रमा लैंगिक समानता र समावेशिता प्रवर्धनका लागि गरेको उत्कृष्ट अभ्यास, नवीन पहल र निरन्तर प्रयासको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो ।
विशेषगरी समाचार कक्षमा महिला सहभागिता, समावेशी भर्ना, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्ग मैत्री पुर्वाधार र पत्रकार सुरक्षा क्षेत्रमा नमूना अभ्यास गर्दै आएको छ’– पत्रकार महासंघले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार किशोर नेपालले एफएमका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारीलाई सम्मान पत्र प्रदान गर्नु भएको हो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, अध्यक्ष निर्मला शर्मा, बरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता थियो । आयोजक पत्रकार महासंघका अनुसार सम्मान छनोट समिति मार्फत् विभिन्न सूचकका आधारमा उत्कृष्ट छनोट गरी अवार्ड प्रदान गरिएको हो ।
प्रतिकृया दिनुहोस